रतौली दरै समाजको संस्था उद्घाटन कार्यक्रम सम्पन्न
फागुन १०, दमौली
व्यास नगरपालिका, वडा नं. १, रतौली टोलमा अवस्थित रतौली दरै समाजको संस्था उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । व्यास नगरपालिका, वडा नं. १ का अध्यक्ष रमेशचन्द्र हड्खलेले उक्त संस्थाको पानसमा बत्ति बाली उद्घाटन गर्नुभएको हो ।
रतौली दरै समाज यहि माघ २८ गते स्थानीय सरकार, व्यास नगरपालिकामा औपचारिक रूपमा दर्ता भएपछि उद्घटन कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव विकास दरैले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता रतौली दरै समाजका अध्यक्ष चेत बहादुर दरैले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका, वडा नं. १ का अध्यक्ष सहित वडा सदस्यहरू मणिजङ्ग वस्नेत, सुनिता सुनारका साथै रतौली टोल विकास संस्थाका अध्यक्ष अभिमानसिंह वस्नेत, सृजना आमा समूहकी अध्यक्ष माया वस्ताकोटी, जलेश्वर महादेव संरक्षण समितिका अध्यक्ष चिजादेवी न्यौपानेको पनि अतिथिका रूपमा सहभागीता रहेको थियो ।
कार्यक्रम संस्थाका सचिव विकास दरैले सञ्चालन गर्नुभएको थियो । संस्थाका निवर्तमान सचिव कृष्ण कुमारी दरैले स्वागत मन्तव्य दिनुभएको थियो भने साधारण सदस्यहरूका तर्फबाट संस्थाका पूर्वअध्यक्ष रेशम माया दरैले आफ्नो धारणा राख्नु भएको थियो । यसका साथै अतिथिहरू मणिजङ्ग वस्नेत, सुनिता सुनार, रतौली टोल विकास संस्थाका अध्यक्ष अभिमानसिंह वस्नेत, सिर्जना आमा समूहकी अध्यक्ष माया वस्ताकोटी, जलेश्वर महादेव संरक्षण समितिका अध्यक्ष चिजादेवी न्यौपानेसहित संस्थाका सल्लाहकार तथा अभिभावक हरिमाया दरै, रन बहादुर दराइले पनि बोल्नु भएको जानकारी प्राप्त भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेशचन्द्र हड्खले ज्यूले संस्था दर्ता भइसकेपछि संस्थाले हाम्रा चालचलन, संस्कृति, परम्परालाई जगेर्ना गर्नुपर्ने बताउनुभयो । अहिलेको अवस्थामा दरै भाषा संकटमा परेकोले भाषा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था समेत आउनसक्ने तर्क दिंदै अध्यक्ष हड्खलेले समझदारीमा क्रमशः विकासहरू गरिँदै जाने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा बोल्दे कार्यक्रमको अध्यक्षता गरिरहनुभएका रतौली दरै समाजका अध्यक्ष चेत बहादुर दरैले रतौली टोलको उज्यालो रतौली बनाउने योजना मुताविक ९० प्रतिशत काम पूरा भइसकेको जानकारी गराउँदै केही दिन भित्र नै रतौली टोल पूर्ण रूपमा उज्यालो रतौली बन्ने कुरामा जोड दिनुभयो । रतौली दरै समाज विगत २०५२/५३ सालदेखि नै अनौपचारिक रूपमा सञ्चालनमा रहँदै आएको कुरा स्मरण गराउँदै अहिले ढिलै भए पनि संस्था दर्ता गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।





