रतौलीमा चितुवाको त्रास, दिउँसै चितुवा गर्जन थालेपछि स्थानीय त्रसित
दमौली, तनहुँ ।
तनहुँको व्यास नगरपालिका वडा नं. १ स्थित चारकुने र रतौली टोलका बासिन्दाहरू पछिल्लो समय चितुवाको त्रासले भयभित बनेका छन्। स्थानीय भयँरथान सामुदायिक वनमा केही दिनदेखि दिउँसैदेखि चितुवा कराउन थालेपछि यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था सिर्जना भएको हो।
स्थानीयका अनुसार चितुवा हरेक पाँच पाँच मिनेटको अन्तरालमा कराउने गरेको छ। दिउँसैदेखि राती अबेरसम्म पनि चितुवाको गर्जन नरोकिएपछि स्थानीयहरू वनमा जान र घर बाहिर निस्कन समेत डराउन थालेका छन्।
घरपालुवा जनावरमाथि आक्रमण
चितुवाले हालसम्म कुनै मानवीय क्षति भने पुर्याएको छैन। तर, बस्ती आसपासका कुकुर जस्ता साना पाल्तु जनावरहरू भने उल्लेख्य संख्यामा खाइसकेको छ। “चितुवाले रातीको समयमा घर आँगनमै आएर कुकुरहरू लैजाने गरेको छ,” एक स्थानीयले बताए। यति मात्र नभई, धेरै लामो समयपछि जंगलमा देखिएका मृगहरूलाई समेत चितुवाले सिकार गरिसकेको स्थानीयको अनुमान छ।
सुरक्षाको माग
सामुदायिक वनमा चितुवाको उपस्थिति र त्यसको लगातारको गर्जनले गर्दा बालबालिका र वृद्धवृद्धाहरू बढी जोखिममा परेका छन्। स्थानीयले सम्बन्धित निकाय र डिभिजन वन कार्यालयलाई यसको अनुगमन गर्न र बस्तीमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।





