राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गरी २०८० सालको चैत्र महिनामा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE) का लागि फाराम भर्न अह्वान गरेको छ । कार्तिक २४ गते प्रकाशित उक्त सूचनामा यहि मंसिर मसान्तसम्ममा फाराम भरिसक्नु पर्ने उल्लेख गरिएको छ ।
२०७७, २०७८ र २०७९ सालको नियमित वा ग्रेढवृद्धि परीक्षामा सहभागी भई कुनै विषयहरूमा D र E ग्रेड प्राप्त परीक्षार्थीहरू वा परीक्षामा अनुपस्थित विद्यार्थीहरूले ग्रेडवृद्धि गर्न चाहेमा उक्त विषयहरूमा परीक्षा दिन पाउनेछन् । फाराम भने आफूले नियमित परीक्षा दिएको विद्यालयबाट नै भर्नुपर्ने छ।अन्य विद्यालयबाट फाराम भरेमा सो फाराम स्वतः रद्द हुने बोर्डले जनाएको छ ।
फाराम साधारण, परम्परागत तथा प्राविधिक धारतर्फ अध्ययनरत साथै खुला, बैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले समेत भर्न सक्नेछन् । फाराम यहि मंसिर मसान्तसम्ममा आफू अध्ययनरत विद्यालयमा रू. ५ सय दस्तुरसहित भर्नुपर्ने जनाइएको छ । यदि उक्त अवधिभित्र फाराम बुझाउन नसकेको खण्डमा भने पौष १५ गतेसम्म डबल दस्तुर रू. १ हजार तिरी फाराम भर्न सकिने छ ।
फाराम भर्न के के चाहिन्छ?
१. साधारण, परम्परागत तथा प्राविधिक धारतर्फका विद्यार्थीहरूका लागिः
क. कक्षा ९ मा अध्ययरत रहँदा भरिएको रजिष्ट्रेशन फारामको अर्धकट्टीको प्रतिलिपि
ख. शैक्षिक वर्ष २०७८ वा सो भन्दा पहिले आधारभूत शिक्षा (कक्षा ८) उतीर्ण गरेको प्रमाणपत्र वा लब्धाङ्क पत्र
ग. जन्मदर्ता प्रमाणपत्रको प्रधानाध्यापकबाट प्रमाणित प्रतिलिपि
घ. हालसालै विद्यालय पोसाकमा खिचिएको पासपोर्ट साइजको २ प्रति रंगिन फोटो ।
ङ. आवेदन दस्तुर रू. ५ सय (डबल दस्तुरमा भए रू. १ हजार)
२. खुला, वैकल्पिक तथा अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागिः
क. दुर शिक्षा/खुला सिकाइ कार्यक्रम सञ्चालन निर्देशिका (संशोधन सहित) २०६३ को दफा १५ र १७ अनुसार भर्ना भई निर्देशिकाले तोकेको सबै शर्तहरू पूरा गरेको सिफारिस सहित प्रधानाध्यापकले प्रमाणित गरेको कागजात ।
ख. हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति रंगिन फोटो ।
ग. कक्षा ८ वा सो सरह आधारभूत तह उतीर्ण गरेको २ वर्ष पुगेको (शैक्षिक वर्ष २०७८ वा सो भन्दा पहिले) प्रमाणपत्र । प्रमाणपत्र राष्ट्रिय परीक्षा बोर्डको परीक्षा फाराम भर्ने सूचना प्रकाशित भएको मिति (कार्तिक २४ गते) भन्दा पछाडि प्रधानाध्यापकबाट प्रमाणित गरिएको हुनुपर्ने)
घ. प्रधानाध्यापकबाट प्रमाणित जन्मदर्ताको प्रतिलिपि
ङ. अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रौढहरूका लागि सञ्चालित अनौपचारिक विद्यालय सञ्चालन निर्देशिका २०६५ ले तोकेको सबै शर्तहरू पूरा गरेको सिफारिस
ङ. निर्धारित फारम शुल्क
३. ग्रेढवृद्धि तर्फका विद्यार्थीहरूका लागिः
क. रजिष्ट्रेशन कार्डको प्रतिलिपि
ख. D वा E ग्रेड प्राप्त भएको ग्रेडसिटको प्रतिलिपि
ग. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति रंगिन फोटो ।
घ. निर्धारित फारम शुल्क
ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीहरूका लागि पहेँलो रंगको छुट्टै फारम व्यवस्था गरिएको छ ।
यसपटक SEE परीक्षाको नतिजा लेटर ग्रेडिङ्ग निर्देशिका २०७८ बमोजिम प्रकाशित गरिनेछ । २०८०, चैत्रमा परीक्षा दिने विद्यार्थीहरूले उतीर्ण हुनका लागि अक्षराङ्कन पद्दति (Theory) मा ३५ प्रतिशत अर्थात D गेड प्राप्त गर्नुपर्ने छ । D ग्रेड प्राप्त नभएमा NG (Not Graded) ग्रेड दिइनेछ । कुनै एक विषयमा मात्रै NG ग्रेड आएको छ भने साधारण धारतर्फको कक्षा ११ अध्ययन गर्न पाइने छैन ।






