तनहुँ, साउन २० — दक्षिण कोरियामा सम्पन्न दुई प्रमुख अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी राज कुमार दरैले एक स्वर्ण र दुई कांस्य पदक जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई गौरवान्वित बनाएका छन्। उनी पहिलो प्रतियोगिता २०२५ विश्व ओलम्पिक्स तेक्वान्दो च्याम्पियनसिपमा सहभागी भएका थिए, जुन २०२५ जुन २६ देखि २९ तारिखसम्म कोरियाको मुजुमा सम्पन्न भएको थियो। उक्त प्रतियोगितामा उनले एकल पुम्से विधामा एक कांस्य पदक र सिनियर ग्योरोगी (फाइट) ६८–७२ केजी तौल समूहमा अर्को कांस्य पदक हात पार्न सफल भएका थिए।

त्यसपछि, दरैले २०२५ जुलाई १३ का दिन कोरियाको राजधानी सियोलस्थित कुक्किवोन (तेक्वान्दोको विश्व मुख्यालय) मा आयोजित अर्को प्रतिष्ठित प्रतियोगिता, United Nations Association of Republic of Korea World Peace Taekwondo Championship मा सहभागिता जनाए। सो प्रतियोगिताको सिनियर–२ (३०–३९ वर्ष) उमेर समूहको व्यक्तिगत पुम्से विधामा उनले अत्यन्तै प्रभावशाली प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भए।
यसरी राज कुमार दरैले छोटो अवधिमा दुई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट तीन पदक जितेर नेपालको तर्फबाट गौरवपूर्ण उपस्थिति जनाएका छन्। उनको यो सफलता न केवल व्यक्तिगत उपलब्धि हो, बरु सम्पूर्ण नेपाली तेक्वान्दो खेलक्षेत्रका लागि प्रेरणाको स्रोतसमेत बनेको छ। उनले देखाएको लगनशीलता, निष्ठा र खेलप्रतिको समर्पण नेपाली खेलकुदको उज्जवल भविष्यतर्फ संकेत गर्दछ।







