काठमाण्डौं – भारत स्थित दिल्लीमा यौन व्यवसाय सञ्चालन गर्ने दम्पती पक्राउ परेका छन् । ति दम्पतीले भारतको दिल्लि स्थित होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम गर्न पाइने र कमाइ समेत राम्रो हुने प्रलोभन देखाई दिल्ली पुर्याइ यौन व्यवसायमा संलग्न गराउने गरेको खुल्न आएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचविखन अनुसन्धान व्युरो, बबरमहल, काठमाण्डौले एक प्रेस विज्ञप्ति मार्फत उक्त समाचार सार्वजनिक गरेको हो ।
व्युरोबाट खटिएको टोलीले यहि पौष ११ गते कञ्चनपुर जिल्लाको सीमा ईलाकाबाट उक्त यौन व्यवसाय सञ्चालन गर्ने अभियुक्त दम्पतिलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरूमा श्रीमान् टिकाराम भण्डारी र निजको श्रीमती अस्मिता भण्डारी रहेको समाचार छ ।
निज अभियुक्तहरूले नेपालबाट प्रलोभन देखाइ ल्याइएका महिलाहरूलाई आफैले भाडामा लिएको अपार्टमेन्टमा राखि यौन क्रियाकलापमा लगाउने गरेको कुरा व्युरोद्वारा प्रकाशित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पक्राउ पर्ने बाँके जिल्ला, कोहलपुर न.पा., वडा नं. ८ जन्मस्थान भई स्याङ्गजा जिल्ला, पेलाकोट गा.वि.स., वडा नं. ९, हाल गल्याङ्ग न.पा., वडा नं. ७ बस्ने टिकाराम भण्डारीको श्रीमती अस्मिता भणडारीले आफूलाइ रिया वली र टिका कुमारी वली भनि चिनाउने गरेको पनि जनाइएको छ ।
