कार्तिक २७, काठमाण्डौं
सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्वान्वयनमा जाने छ । त्यसका लागि कुनै समयावधि भने तोकिएको छैन । टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ, मन्त्री शर्माले भन्नुभयो ।
त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ । पछिल्लो समय नेपालमा सामाजिक सद्भाप बिथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको उहाँको भनाई छ । आजभोलि मानिसहरू आफ्ना मनका कुरा साथीसँग भन्दा बढी टिकटोकमा पोख्छन्, आफ्ना मनका कुरा राख्नु त ठीकै हो तर हेर्नै नसकिने भिडियो बनाउने, अरुलाई गाली गर्ने, सामाजिक सद्भाव खलबलाउने समाग्री पोस्ट गर्ने प्रवृत्तिले पनि टिकटक बन्द गर्न लागेको शर्माले जानकारी दिनुभएको छ ।
जथाभावी अरु प्रति घृणा फैलाउने र नकारात्मक टिप्पणी गर्ने कुराले सामाजिक तथा धार्मिक रूपमा पनि असर गरिरहेकाले सामाजिक संजाल टिकटकका कारण यस्ता कुरालाई प्रशय मिलिरहेको छ । सरकारले केही समय अगाडि जातीय, धार्मिक र सामाजिक सद्भाप बिगार्ने सामग्री टिकटकबाट स्वतः हट्ने व्यवस्थाका लागि टिकटकका प्रतिनिधिसहित सरकारी पक्षसँग पनि छलफल गरेको थियो । जातीय, धार्मिक र सामाजिक सद्भाप बिगार्ने, घृणा फैलाउने सामग्री टिकटकबाट हटाउने र दोषीलाई कारबाही गर्नका लागि गृह मन्त्रालय, संञ्चार तथा सुचना प्रविधि मन्त्रालाय, नेपाल प्रहरीको साइबर व्युरो र टिकटकको सिंगापुर कार्यालयका प्रतिनिधिबिच छलफल समेत भएको थियो ।
सामाजिक सञ्जालमा संप्रेशित गलत सामग्रीले जातीय, भाषिक, धार्मिक सद्भाप खलबलाउने, राष्ट्रिय एकता र राष्ट्रहितमा प्रतिकुल असर गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने देखिएपछि साइबर व्युरोले टिकटक कार्यालयसँग छलफल गरेको थियो । छलफल पछि त्यस्ता सामाग्री हटाउने र त्यस्ता कार्य गर्ने व्यक्तिई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरिएको थियो तर आज बसेको क्याबिनेटको बैठकले भने टिकटक बन्द नै गर्ने निर्णय गरेको हो ।